तपाईँ सुन्दै हुनुहुन्छः

उडानले ल्याएको आशा, भिजिबिलिटीले पार्ने त हैन निराशा

रुपन्देही । लामो समयको प्रतीक्षापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एकै ५ वटा अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । तर,यतिबेला उडानलाई प्रभावित पार्न सक्ने समस्याको रूपमा भिजिबिलिटी बन्न सक्ने देखिएको छ ।

तराईको छेत्रमा हिउँदको समयमा बाक्लो हुस्सु लाग्ने गर्दछ। यही समयमा तराईको बाक्लो हुस्सुबाट प्रभावित नभई निरन्तर उडान हुनेमा अन्योलता भएको स्थानीयहरूको चिन्ता छ ।

विमानस्थलमा कतार एयरवेजको वाइड बडीले दैनिक रुपमा उडान भरिरहेको छ । यसैगरी न्यारो बडी लिएर फ्लाइ दुबई, एयर एसिया र जजिराले पनि कार्तिक २५ गतेदेखि नियमित रुपमा उडान गर्दै आएका छन् ।

एकैपटकमा ४ वटा अन्तर्राष्ट्रिय विमान अहिले विमानस्थलमा देख्दा लुम्बिनी प्रदेशमा मात्रै होइन नेपालको सिङ्गो पर्यटन क्षेत्रमा उत्साह छाएको छ ।

स्थानीयहरूमा भैरहवामा हिउँद याममा लाग्ने बाक्लो हुस्सुका कारण देखाउँदै गत साल जजिराले उडान बन्द गरेझैँ यस वर्ष शुरु भएका ४ उडान पुन बन्द हुने त होइनन् भन्ने चर्चा छ । जाडो याममा भैरहवामा बिहानको समयमा ५० मिटर पनि भिजिबिलिटी हुँदैन ।

दिउसोको समयमा मात्र हुस्सु कम हुन्छ र भिजिबिलिटी बढ्दै जान्छ । तर जाडो याममा दिउसोमा पनि विमानलाई चाहिने न्यूनतम भिजिबिलिटी भने हुँदैन । पुष–माघ महिनाको १०–१२ दिन त भिजिबिलिटी अत्यन्तै न्युन हुन्छ । जसकारण जाडोको समयमा विमानस्थलको नियमित उडानमा बाधा सिर्जना हुने देखिन्छ । विमानलाई अवतरण गर्नको लागी न्यूनतम १८०० मिटरको भिजिबिलिटी चाहिन्छ ।

त्यो भन्दा कम भिजिविलिटीमा अवतरण गर्नको लागी उपकरणको सहयोग चाहिन्छ जसलाई इन्सट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) भनिन्छ । आइएलएसले ८ सय मिटर सम्मको भिजिबिलिटीमा विमानलाई अवतरण गराउन सहयोग गर्नेछ । आइएलएस गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको छ तर उक्त उपकरण सञ्चालन गर्दा उपकरण बाट निस्कने प्रकाशका किरण भारतको आकाशसम्म पुग्ने भएका कारण भारतको अनुमति लिनुपर्ने हुन्छ । उक्त अनुमति नपाएका कारण आइएलएस उपकरण बन्द गरेर राख्नुपर्ने स्थिति भएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताउनुभयो ।

विमानस्थल कार्यालयका अनुसार भूउपग्रह प्रविधि (आरएनपी–एआर) प्रयोग गरेर पनि विमानस्थल सञ्चालन गर्न सकिने आधार छ । भूउपग्रह प्रविधि (आरएनपी–एआर) बाक्लो हुस्सुको समयमा कम भिजिविलिटीमा पनि विमानलाई अवतरण गराउन सकिने प्रविधि हो । यो इन्सट्रुमेन्टल ल्याण्डिङ सिस्टम –आइएलएस) को राम्रो विकल्पको रुपमा विमानस्थलले हेरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत ३ नोभेम्बरदेखि अन्तर्राष्ट्रिय हवाई कम्पनीका विमानहरूको उडान हुन शुरु गरेको हो । हालसम्म थाई एयर एसियाले २, जजिराले २, फ्लाइ दुबईले ५ र कतार एयरवेजले २ उडान गरिसकेका छन् ।

विमानस्थल सञ्चालन शाखाका निर्देशक सन्तोष पोखरेलले भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्स सहित ५ वटा विमान कम्पनीहरूले दैनिक उडान गर्दै आएको बताउनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुटको पनि समस्या रहेको छ । नेपालको हवाई क्षेत्रको लागी भएको एउटा मात्र इन्ट्रि पोइन्ट पूर्वबाट प्रवेश गर्दा अहिले भैरहवा आउन विमानहरूका लागि न्यूनतम १० मिनेटको ढिलाइ हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button