कन्काई–६ मा ९ जनाको उम्मेदवारी दर्ता
झापा । मङ्सिर १६ गते कन्काई ६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कन्काई ६ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ९ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली, नेपाली काँग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायण निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका हुन् ।
कन्काई ६ को उपनिर्वाचनमा ८ जनाले राजनीतिक दलका तर्फबाट र एकजनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ९ जना उम्मेदवारमध्ये ८ जना पुरुष र एकजना महिला छन् ।
प्रतिक्रिया राख्नुहोस्