मह प्रशोधन उद्योग प्रयोगविहीन
अर्घाखाँची । अर्घाखाँचीमा रहेको मह उद्योग सञ्चालनमा नआई जीर्ण बनेको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ को साना गाउँमा स्थापना गरिएको अर्घाखाँची मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण बनेको हो । बिना अनुसन्धान मह उत्पादनका लागि देशमै दोस्रो नमूना उद्योग भन्दै अर्घाखाँची उद्योग वाणिज्य सङ्घ मार्फत कृषि मन्त्रालयले लगानी गरेको उद्योग जीर्ण भएको हो ।
२०७२ सालमा उद्योग स्थापनाको काम सम्पन्न भएको र उद्योगमा एक वर्षसम्म छिमेकी जिल्लाबाट मह ल्याएर प्रशोधन लगायतका काम गरी सञ्चालन गरिएको थियो । तर त्यसपछि उद्योग पुरै बन्द अवस्थामा रहेको उद्योगका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो । उद्योगमा रहेका सम्पुर्ण मेशिनहरू खिया लागेर काम गर्ने अवस्थामै नरहेको उहाँको भनाइ छ ।
उद्योगमा सरकारको १ करोड ३ लाख र स्थानीयको तर्फबाट ६० लाख गरि कुल १ करोड ६३ लाख खर्च भएको थियो । उद्योगका भवन र मेसिन प्रयोगमा नआउँदै जीर्ण बनेका छन् । मह उत्पादन ज्यादै न्युन छ । यो उद्योग यहाँ चलाउन नसकिने सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
जिल्लाको केही क्षेत्र धनचौर, धारापानी, जुकेना, जलुके लगायतका ठाउँमा मौरीपालक किसान छन् तर किसानलाई मौरी पालनसम्बन्धी तालिम तथा स्रोत र सम्भावना सम्बन्धमा कुनै निकायबाट पहल नभएकाले व्यावसायिक बन्न सकेका छैनन् ।
जिल्लामा पछिल्लो समय अन्य जिल्लाका किसानले मौरी चरनका लागि ल्याउने र लैजाने पनि गरेका छन् ।
उद्योग चलाउनका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सरकार जिम्मेवार हुनुपर्ने अध्यक्ष कँडेलको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्