तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी महोत्सवको निमन्त्रणा पुर्‍याउन मुख्यमन्त्री सहितको टोली अयोध्या प्रस्थान

वीरगञ्ज । भारतको अयोध्यामा विवाह पञ्चमी महोत्सवको निमन्त्रणा पुर्‍याउन जनकपुरधामबाट मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली वीरगन्जबाट प्रस्थान गरेको छ ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको साताव्यापी आयोजना हुने विवाह पञ्चमी महोत्सवको निमन्त्रणाका लागि मुख्यमन्त्रीसहितको टोली आइतबार वीरगञ्जबाट राम जन्मभूमि अयोध्या धामका लागि प्रस्थान गरेको हो ।

अयोध्या प्रस्थान गर्ने मुख्यमन्त्री सिंहसहितको टोलीमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मद सकिल अलि मियाँ, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, श्रम तथा यातायातमन्त्री कौशल किशोर रायको सहभागिता रहेको छ ।

यसैगरी टोलीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर साहको पनि सहभागिता रहेको छ । टोलीले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायसहितको टोलीलाई औपचारिक निमन्त्रणा दिँदै जनकपुरधाममा मङ्सिरमा आयोजना हुने साताव्यापी विवाह महोत्सवमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो ।

उहाँले महोत्सवलाई भव्य बनाउन प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको र यो महोत्सवले नेपाली सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न मद्दत पुर्‍याउने बताउनुभयो ।

विवाह पञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबिचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरको रुपमा मानिन्छ । राम र सीताको ऐतिहासिक विवाहको सम्झनामा मनाइने यो महोत्सवमा हरेक वर्ष नेपाल तथा भारतका हजारौँको सङ्ख्यामा श्रद्धालुहरूको जमघट हुने गर्दछ ।

जनकपुरधामबाट तिलकसहितको निमन्त्रणा लिएर आएको टोली शनिबार वीरगञ्जमा बास बसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button