जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने, कांग्रेस उम्मेदवार सर्वसम्मत
ओखलढुङ्गा । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा काँग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेदवार नउठाउने भएको हो ।
काँग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । केही बेरमा उम्मेदवारी दर्ताको तयारी छ ।
उपनिर्वाचन अन्तरगत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्ला स्तरीय बैठकमा काँग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेदवार नउठाउने विषयमा एमाले नेताहरू सहमत भएका हुन् ।
जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुख मध्ये कांग्रेसको तर्फबाट ५ पालिका प्रमुख र ४ उपप्रमुख गरी ९ जनाले जितेका छन् । एमालेले १ पालिका अध्यक्ष, ४ उपसहित ५, माओवादीले १ अध्यक्ष र जसपाले १ अध्यक्ष जितेका छन् ।
जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ । एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको अब साढे २ वर्ष जिसस प्रमुख बन्नुहुने भएको छ ।
८ स्थानीय तह रहेको ओखलढुङ्गामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा काँग्रेसकै बहुमत रहेको र जिससको नेतृत्वमा हालसम्म काँग्रेसकै उम्मेदवार निर्वाचित भएको जिल्लाको परिस्थिति र केन्द्रको सत्ता गठबन्धनको नीति अनुसार जिसस प्रमुखको उपनिर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी बताउनुभयो ।
जिल्लामा उपनिर्वाचन हुने मोलुङ ५ को वडा अध्यक्षमा भने स्वच्छ प्रतिस्पर्धा हुने उपाध्यक्ष न्यौपानेको भनाई छ । ‘जिसस प्रमुखको दाबेदार पार्टीभित्र थुप्रै हुनुहुन्छ तर मतदाता सङ्ख्याको अङ्क गणित र केन्द्रिय सत्ता साझेदार दल भएका हिसाबले भिड्नुभन्दा मिल्नुनै उपर्युक्त ठानेर जिससमा उम्मेदवार अघि सारिएन ।’ उपाध्यक्ष न्यौपानेले भन्नुभयो, ‘मोलुङ ६ को वडा अध्यक्षमा हामी काँग्रेससँगै भिड्दैछौं ।’ मोलुङ ५ मा कांग्रेसको विरासत तोड्ने गरी एमालेले सर्वसम्मत वडाबाटै उम्मेदवार तय गरेको उहाँको दाबी छ ।
मोलुङ ५ एमालेका केन्द्रीय सदस्य तथा २ पटक सङ्घीय सांसद बनेका नेता यज्ञराज सुनुवारको वडा भएकाले पनि एमालेलाई जित्नै पर्ने दबाब छ । यद्यपि यसअघिका २०७४ र २०७९ का निर्वाचनमा यो वडा काँग्रेसले जितेको थियो ।
मोलुङ ५ का वडाअध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि रिक्त पदमा एमालेका गङ्गाबहादुर तामाङ र कांग्रेसका घनश्याम दाहाल मुख्य प्रतिस्पर्धी बनेका छन् । यो वडामा राप्रपा र रास्वपाले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्