जिराभवानीमा जङ्गली हात्तीको आतङ्क
वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिकामा जङ्गली हात्तीको समूहले आतङ्क मच्चाएको छ । शुक्रबार बेलुका राष्ट्रिय जङ्गलबाट १५/१६ वटा हात्तीको समूहले जिराभवानी गाउँपालिका वडा नं २ वसन्तपुरका प्रेमनारायण पटवारीको घर भत्काउनुको साथै धानबालीमा क्षति पुर्याएको छ ।
राति करिब साढे ७ बजे उक्त हात्तीको समूहले स्थानीय प्रेमनारायण पटवारी, रमेश खाँ, शिवशङ्कर साहको दश कट्ठा पाकेको धानबाली खानुका साथै माडेर क्षति पुर्याएको छ । यसका साथै वोरीङ्ग र ट्युबवेलमा समेत क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
खेतमा रहेको पिपलबोटमा मचान बनाई बाली जोगाउन बस्दै आएका प्रेमनारायण पटवारीका अनुसार हात्तीको समूहले खेतमा पसेपछि हात्ती धपाउन गाउँमा फोन गरी सहयोगका निम्ति स्थानीयहरूलाई बोलाएको बताउनुभयो ।
गाउँलेहरूले दुई वटा ट्याक्टर लिएर हात्ती धपाउन आएका र ट्याक्टरको ठूलो स्वर तथा टिन बजेको आवाजले हाती जङ्गल पसेको उहाँको भनाई छ । बेलुकी साढे ७ बजे बस्तीमा पसेको हात्ती रातको करिब १० बजे जङ्गल फर्किएको पटवारीले बताउनुभयो ।
फेरी रातको करिब साढे १२ बजे पुनः हाती खेतमा पसेर बालीमा क्षति पुर्याएको पटवारीले बताउनुभयो । उक्त हात्तीको समूहले काठमान्डौ टोल शान्तिनगरका किसानहरुले लगाएका तोरी बालीमा समेत क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्