बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा : ऊर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताउनुभएको छ ।
नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले नेपालबाट बङ्गलादेश पहिलोपटक विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताउनुभएको हो । “यो कोसेढुङ्गा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यको लागि साझा दृष्टिकोणको प्रतिबिम्ब हो,”– मन्त्री खड्काले भन्नुभयो ।
उर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको बताउनुभयो । उहाँले बङ्गलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बङ्गलादेश सरकारलाई धन्यवाद दिनुभयो ।
उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगेको उहाँको भनाई थियो । उर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुगेको उल्लेख गर्नुभयो ।
नेपाल–भारत र बङ्गलादेशबीच गत असोज १७ ९अक्टोबर ३०का दिन त्रिपक्षीय सम्झौता भएर भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यातको अनुमति दिएसँगै आजदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु गरिएको हो । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको स्विच अन गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाइन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताउनुभयो । उहाँले नेपालका विभिन्न जलविद्युत परियोजनामा भारतले लगानी गरेको भन्दै उक्त परियोजनाका सम्पन्नताले विद्युत् विस्तारमा थप सहजीकरण हुने उल्लेख गर्नुभयो ।
मन्त्री खट्टरले नेपालको विद्युत् उत्पादन विकासमा भारत सहयोग गर्न तयार रहेको बताउनुभयो । हरित ऊर्जाको दिगो विकासका लागि यस्ता सम्झौताले सहयोग पुग्ने उहाँको भनाई थियो । बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताउनुभयो ।
यस्ता सहकार्यले एकीकृत ऊर्जा विकासमा दक्षिण एशियाली देशलाई समृद्ध बनाउँदै दिगो विकासलाई सहयोग पुग्ने उहाँको भनाई थियो । उहाँले कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने नीति लिएको बङ्गलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जानका लागि नेपालका जलविद्युतले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बङ्गलादेशको आर्थिक विकासमा नेपालबाट आयत गरिएको विद्युतले सहयोग पुग्ने उहाँको भनाई थियो ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय ऊर्जा सम्झौता र निर्यात दक्षिण एसियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताउनुभयो । उहाँले यो साझेदारीले दक्षिण एशियाली देशमा नवीकरणीय ऊर्जाको प्रमुख निर्यातकर्ता बन्ने हाम्रो दृष्टिकोणलाई साकार पार्ने एउटा महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो ।
सचिव आचार्यले बङ्गलादेशको ऊर्जाको माग निरन्तर बढिरहेकाले तीन राष्ट्रको आपसी सहमतिका आधारमा स्वच्छ ऊर्जा उपलब्ध गराउन नेपाल सधैँ तत्पर रहेको बताउनुभयो । सम्झौता भएअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्नेछ । नेपालले निर्यात गरेको बिजुली ४०० केभी प्रसारण लाइन हुँदै ढल्केबरबाट भारतको मुजफ्फरपुर–बहरामपुर हुँदै बङ्गलादेशको भेरमारासम्म पुर्याइनेछ ।
यो याममा आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, ऊर्जा मन्त्रालयका सहसचिवद्धय चिरञ्जीवी चटौत र जीवछ मण्डल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्