तपाईँ सुन्दै हुनुहुन्छः

हरिबोधिनी एकादशीमा रेसुङ्गामा पूजा गर्नेको भिड 

गुल्मी । हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा पूजा गर्नेहरुको भिड लागेको छ  । हरिबोधिनी एकादशीको दिन धार्मिक स्थल रेसुङ्गामा स्नान र पूजाआजा गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।

रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरू बाट पनि श्रद्धालु भक्तजन आउने गर्दछन् ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा बिहानैदेखि गुल्मी लगायत विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनले पूजा गर्नुका साथै मेला अवलोकनका लागि रेसुङ्गा जाने गर्दछन् ।

सदरमुकाम तम्घासदेखि अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भिड बढेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएका छन् ।

एकादशीमा रेसुङ्गा पोखरीमा नुहाएमा भूल गरेर गरेका पापहरू नष्ट हुने मान्यताका आधारमा रेसुङ्गा पोखरीमा नुहाउन पुगेको मुसिकोट नगरपालिका ३ की रुपा विश्वकर्माले बताउनुभयो । उहाँले रेसुङ्गा क्षेत्रमा शुद्ध मनले पूजा पाठ गरेमा मनोकांक्षा पूरा हुँदै आएकाले रेसुङ्गा पुग्ने गरेको बताउनुभयो ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्त्विक महत्वका वस्तु र स्थानहरूको संरक्षण, संवर्द्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक भित्र्याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button