तपाईँ सुन्दै हुनुहुन्छः

महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती मनाइँदै

काठमाडौँ । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्म जयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा निर्माण गरिएको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिक । फाल्गुनन्दको १४० औँ जन्मजयन्तीका अवसरमा आज किरात धर्मगुरु आत्मानन्द लिङदेनले उहाँको शालिक अनावरण गर्नुभएको हो । तस्बिरःरासस

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । 

किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । 

उहाँको योगदानको कदर गर्दै किरात समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button