तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव हुने

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव हुने भएको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटमा रहेका पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि उत्सव आयोजना हुन लागेको बताउनुभयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले पाँचौँ प्राज्ञ सभालाई सम्बोधन गर्दै चैतको पहिलो हप्ता उत्सव आयोजना हुने बताउनुभयो । विगतका वर्षहरुमा पनि बर्दघाट प्रज्ञा प्रतिष्ठानले साहित्यमार्फत बर्दघाट नगरीलाई चिनाउने प्रयास गरेको उल्लेख गर्दै न्यौपानेले यस वर्ष पनि ३ दिनको उत्सव गर्ने तयारीमा रहेको न्यौपानेले बताउनुभयो ।

प्रज्ञा सभामा सदस्य सचिव शरद पौडेलले प्रतिवेदन मार्फत आर्थिक वर्षमा सम्पन्न गरिएका कार्यक्रमहरूको विवरण र अगामी योजनाहरू प्रस्तुत गर्नुभएको थियो । पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुमोदन गर्दै सभामा सहभागी प्रज्ञा सभा सदस्यहरुले नगरको विकास र सांस्कृतिक पहिचानलाई जोड्दै नयाँ कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन ।

नगर प्रमुख श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतिष्ठानले गत वर्ष गरेको साहित्यिक पर्यटन कार्यक्रमको प्रशंसा गर्दै नगरका विविध जातीय पर्वहरूको उत्थानमा प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सम्वतलाई पनि उजागर गर्न आग्रह गर्नुभयो । उत्सवमा छिमेकी मुलुक भारतसहित अन्य देशका कलाकर्मी, साहित्यकर्मीको उपस्थिति रहने बताइएको छ ।

बुद्ध मङ्गल ताल, बाउन्नघोला सिमसार, देशको १ सयौँ पर्यटकीय गन्तव्यमा परेको कन्चनकुटी, बनदेवी मन्दिर बर्दघाटका मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेका छन । स्थानीय स्तरको पर्यटन प्रवर्द्धनमा तिनै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button