तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा छठी माताको पूजा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गर्नुभएको छ । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा  गर्नुभएको हो । 

सभापति देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको हो । सभापति देउवालाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झाले स्वागत गर्नुभएको थियो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरिन्छ ।

संयोजक झाका अनुसार नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्कालगायत विशिष्ट व्यक्तित्वसमेत कुपोण्डोल घाट पुगेर छठ पूजामा सहभागी हुनुभएको थियो ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button