तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना 

सुनसरी । सुनसरीमा छठ पर्वको अवसरमा आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिएको छ ।

छठले गर्दा सुनसरीको इनरुवा, इटहरी, दुहबी , दुहबी, गढी, बर्जु ,सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा सहित जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।

कतै घर अगाडि नै कृत्रिम पोखरी बनाएर त कतै जलाशयहरूमा छठ घाट बनाएर स्थानीयहरू व्यस्त बनेकाले जिल्लाभरि छठपर्वको रौनक बढेको हो । 

आज छठको तेस्रो दिन अर्थात् छठ पर्वको मुख्य दिन । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार व्रत बसी साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गएर पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । सूर्य पूजा गर्ने घाटलाई बेहुली झैँ सिँगारिएको छ ।  

सूर्य उपासनाको महापर्व छठको तयारीमा यस क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले मङ्गलवार ‘नहाय–खाय’ विधिबाट गरेका छन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । 

कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ ।

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको सुनसरी दुहबीका व्रतालु सरिता देवी यादवले बताइन् ।

पर्वले घर–घरमा व्यस्तता बढाएको छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । 

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । 

व्रत बसेका श्रद्धालुले मिथिलामा यसपालि आज बिहीबार छठ व्रत अस्ताउँदो सूर्यलाई अर्घ (सझुका अरख) शुक्रवार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button