प्रथम पोखरा तातोपानी साँस्कृतिक तथा व्यापार महोत्सव सुरु
रुकुमपूर्व । प्रथम पोखरा तातोपानी साँस्कृतिक तथा व्यापार महोत्सव २०८१ को उद्घाटन गरिएको छ । महोत्सवको बुधबार सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले उद्घाटन गर्नुभएको हो । आयोजकले १९ गते महोत्सवको उद्घाटन गर्ने भने पनि विविध कारण देखाउँदै बुधबार मात्र महोत्सवको उद्घाटन गरेको हो ।
महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले यो महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै तातोपानी र सानोभेरी र्याप्टिङको विकासको लागि सिस्ने सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ । अध्यक्ष रेग्मीले बागेधारा मन्दिर लगायत यहाँको पर्यटनका सम्भावना बोकेका सबै क्षेत्रलाई क्रमशः नयाँ ढङ्गले विकास गर्ने बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि तथा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले प्रथम पोखरा तातोपानी साँस्कृतिक तथा व्यापार महोत्सव २०८१ ले यस क्षेत्रको विकासका र तातोपानी लगायत पर्यटकीय क्षेत्रको लागि महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभएको छ ।
त्यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य लालजित बुढा अतिथिहरू वडा अध्यक्ष हेयराम खड्का, सिस्ने गाउँकार्यपालिका सदस्य मिना केसी, तीन वटै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लछिराम घर्ती, पशुपति खड्का र नन्दराम लामिछाने लगायतले यो महोत्सवले स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाहरुले स्थानीय स्तरमा लुकेर रहेका कला संस्कृति सँगै पर्यटनको प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार सँगै संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।
सिस्ने गाउँपालिका वडा नम्बर ३ मा लाग्ने प्रथम पोखरा तातोपानी साँस्कृतिक तथा व्यापार महोत्सव २०८१ मा चर्चित एक्सन नायक विराज भट्ट लगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने र महोत्सव २८ गतेसम्म लाग्ने आयोजकको दाबी छ । महोत्सवको मिडिया पार्टनरमा रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज र समावेशी मिडिया डट कम रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्