डोम समुदायलाई छठ पूजाका सामग्री बनाउन भ्याइनभ्याई

वीरगंज । छठ पूजालाई आवश्यक पर्ने पूजाका सामग्री बनाउन बीरगंज तथा बारा पर्साका डोम समुदायलाई भ्याई नभ्याई भएको छ ।
गरिब तथा विपन्नताको कारण सधैँ प्रभावित डोम समुदायलाई खान, लगाउन धौ धौ हुने गर्दछ । अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ ।
डोम समुदायलाई अहिले छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो,नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ ।
दीपावली लगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी पर्सालगायत तराई मधेसको विभिन्न स्थानमा बसोबासो गर्ने डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्दै आएका छन् । उनीहरू पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बीरगन्ज जेलरोडका तेजुलाल डोम चमारले बताउनुभयो ।
बाँसबाट बनाइने नाङ्लो, ढकिया र निमोनियाँ छठ पर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिना अघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै बेच्दै गर्दैमा फुर्सद नरहेको उनीहरू बताउँछन् । अहिले प्रतिनाङ्लो बाँसको चोयाअनुसार सात सय रुपैयाँ, छ सय रुपैयाँ, पाँच सय रुपैयाँ र चार सय रुपैयाँसम्ममा बिक्री भइरहेको उनीहरूले बताउँछन् ।
डोम समुदायले प्रत्येक छठमा व्रत बस्नेहरूका लागि तयार गर्ने बासका सामाग्री बेचेर राम्रो आम्दानी गर्दै आएको बीरगन्ज रानिघाट निवासी हरेन्द्र डोमले बताउनुभयो ।
छठ पर्व मनाउन तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच–सात वटा बाँसका सामग्री खरिद गर्नु पर्ने हुँदा डोम समुदायको व्यवसाय छठ पर्वमा फस्टाउने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्