उदयपुरमा छठ पूजाको तयारी अन्तिम चरणमा
उदयपुर । नजिकिँदै गरेको छठ पर्वको तयारी उदयपुरमा तीव्र बनाइएको छ । साझा सांस्कृतिक धरोहरको रुपमा स्थापित छठ पूजालाई व्यवस्थित र आकर्षित बनाउने गरी तयारीलाई तीव्र बनाइएको हो ।
सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पूजाको विभिन्न उपसमितिहरू गठन गरी सबै काम एकैसाथ अघि बढाइएको त्रियुगा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहले बताए ।
उनका अनुसार कात्तिक २० गते घाट स्थलको सरसफाइका लागि सशस्त्र, नेपाल प्रहरी, जेसिस लगायतका निकायलाई अनुरोध गरिएको छ । समितिको बैठकले सरसफाइ, आर्थिक सहयोग जुटाउने, व्यवस्थित सास्कृतिक कार्यक्रम, सुरक्षा, यातायात व्यवस्थापन, बिद्युत् जडान, टेन्ट, घाटदर रेट लगायतका कामहरू गर्न उपसमितिहरू गठन गरिएको साहले बताए ।
समितिका प्रमुख सल्लाहकार खेमनारायण यादव (राहुल)का अनुसार पर्वलाई व्यवस्थित र आकर्षक बनाउन उत्कृष्ट प्रवेशद्वार निर्माण, दुई ठुला र दुई साना गरी चार वटा पुल, मूर्ति घर, सेल्फी स्टन्डलगायतका कार्यहरू उपसमितिमार्फत अघि बढाइएको बताए ।
उनले नदी किनारामा विभिन्न स्टलहरू निर्माण, दैनिकजसो सरसफाइ, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको बताए । उनले मुख्य घाट व्यवस्थापन, मूर्ति स्टल निर्माण, साँस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्वार, बिजुली बत्ती, साउन्ड सिस्टम लगायतका काममा जुटेको अध्यक्ष साहले बताए ।
नहाय खाय सँगै सुरु हुने छठ पूजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ । पर्वलाई विगत बर्सभन्दा अझ उत्कृष्ट, व्यवस्थित र भव्य बनाउन आवश्यक अनुसार उपसमिति तयार गरी जिम्मेवारी बाँडफाँट गरिएको उनले बताए ।
छठ पर्वमा केराको अत्यधिक प्रयोग हुन्छ । विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादको रुपमा चढाइन्छ ।
उदयपुरमा छठ पूजाका लागि आवश्यक केरा, नरिवल लगायतका पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भान्टावारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको आसाम, पटना, मौकामा, हांजीपुर, पश्चिम बङ्गाल, ठाकुरगंज तथा वीरपुरलगायत सहरबाट भित्रिने गरेको उदयपुर छठ पूजा आयोजना समितिका प्रमुख सल्लाहकार खेमनारायण यादव राहुले बताउनुभयाे ।
प्रतिक्रिया राख्नुहोस्