तपाईँ सुन्दै हुनुहुन्छः

युरोपबाट माग हुन थाल्यो कर्णालीको टिमुर

काठमाडौँ । कर्णालीमा उत्पादित टिमुरको माग युरोपबाट आउन थालेको छ । कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाले कृषकलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कर्णालीको टिमुरले अन्तर्राष्ट्रिय बजार पाएको हो । 

अहिले प्रदेशका सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका कृषकले उत्पादन गरेको टिमुरको माग भारतलगायत युरोपेली मुलुकका साथै जापान, दक्षिण कोरिया, अमेरिकाबाट आउन थालेको छ । ती देशका विशेषगरी नेपाली रेस्टुराँ र डिपार्टमेन्ट स्टोरहरूबाट टिमुरको माग आउने गरेको जडीबुटी व्यवसायीले रमेश वलीले बताउनुभयो ।

अहिले विदेशबाट माग आउन थालेपछि टिमुर खेतीमा संलग्न कृषकसँगै निकासीकर्ता उत्साहित भएका छन् । कर्णालीबाट मात्रै बर्सेनि करिब १५ करोडको टिमुर भारतलगायत विभिन्न तेस्रो मुलुकमा निर्यात हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राममनोहर साहले बताउनु भयो ।

जर्मनीमा निर्यात गरिएको टिमुर मसला बनाएर थप ७५ राष्ट्रमा पुग्ने गरेको छ । अहिले सुर्खेतमा टिमुरको उत्पादन बढाउन र बजार विस्तार गर्न डिभिजन वन कार्यालय,कृषि उद्यम विकास कार्यक्रम,डाबर नेपालले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button