तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाइने : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । 

शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्नुभएपछि उहाँले भाषा संस्कृति, सभ्यतालाई जोगाउन व्यक्तिगत र प्रधानमन्त्री दुवै हैसियतमा आफू तयार रहेको बताउनुभयो । 

प्रधानमन्त्रीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने बताउनुहुँदै प्रतिष्ठानका केही जायज माग राज्यको क्षमताअनुसार क्रमशः पूरा गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयका रुपमा समावेश गर्न माग गर्नुभएको छ, त्यो पूरा गर्न नसकिने माग हो जस्तो लाग्दैन, मैथिली, भोजपुरी जस्तै यसलाई पनि ऐच्छिक विषयका रुपमा पाठ्यक्रममा समावेश गर्न सकिन्छ । निर्णय नगरी यहाँ मैले बोल्न मिल्दैन ।”

सरकारी स्तरमा नेपाल भाषाको संरक्षणका लागि विभिन्न प्रयास भइरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले हाल रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनले नेपाल भाषामा समाचार प्रकाशन एवं प्रसारण गरिरहेको बताउनुभयो ।

भक्तपुरलाई जीवित सङ्ग्रहालयका रुपमा लिइएको बताउनुहुँदै उहाँले यहाँका ऐतिहासिक कला, संस्कृति संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शङ्खधर साख्वाःले त्यतिबेला नै देशभक्ति र राष्ट्रियताको परिचय दिनुभएको बताउनुभयो । 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले जिल्लाका ऐतिहासिक कला, संस्कृति, परम्परालाई विश्वभर फैलाउन आगामी पुसमा मध्यपुर महोत्सव आयोजना गर्ने जानकारी दिनुभयो । 

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट ठुलो उपलब्धि हासिल गरे पनि अझै धेरै गर्न बाँकी रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

त्यसअवसरमा प्रधानमन्त्री ओलीले मध्पुरथिमिमा ६३ वर्ष पुराना संस्था न्ह्यज्याः खलः थिमि र नेपाल संवत्का अभियन्ता, भाषा आयोगका सदस्य एवं सञ्चारकर्मी सुरेश किरण मानन्धरलाई शङ्खधर सम्मान प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button