तपाईँ सुन्दै हुनुहुन्छः

सैँजुको आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा आज अन्त्येष्टि गरिएको छ ।

पूर्वउपाध्यक्ष सैँजुको अन्त्येष्टिमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलगायत आर्यघाट पुग्नुभई उहाँप्रति श्रद्धाञ्जली दिनुभएको सैँजुकी छोरी मीता सैँजु प्रधानले जानकारी दिनुभयो ।

लामो समयदेखि पार्किनसन रोगबाट पीडित सैँजुको ८३ वर्षको उमेरमा सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो । उहाँका छोरा विदेशबाट आउनुपर्ने भएकाले चार दिनपछि आज अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । 

सैँजुले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गर्नुभएको थियो । सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण र प्रबल त्रिशक्ति पट्टबाट उहाँ सुशोभित हुनुहुन्थ्यो । 

पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा बढी लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button