तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा फूल उत्पादनमा कमी

गुल्मी ।  गुल्मी जिल्लामा तिहारलगायत विभिन्न मेला महोत्सव लक्षित गरेर व्यवसायीक रुपमा फूल खेती हुन थालेको छ । तर जिल्लामा गत वर्षभन्दा यस वर्ष फूल उत्पादनमा कमी आएको छ ।

गुल्मी जिल्लाका ग्रामीण बस्तीमा व्यावसायिक रुपमा फूल खेती गर्ने कृषकहरू बढ्दै जान थालेका छन् । यहाँ नेपालीहरूको दोस्रो ठूलो महान् पर्व तिहारलाई लक्षित गरेर व्यवसायीक रुपमा फूल खेती गर्न थालिएको छ । पहिले गाउँ घरमा वरपर मागेर फूलका माला बनाउने प्रचलन रहेको थियो । तर पछिल्लो समय घर घरमा फूल खेती नगर्नु र स्थानीय तहले कृत्रिम फूलका माला निषेध गरेकाले व्यवसायीक रुपमा फूल खेती गर्ने कृषकहरू बढ्दै गएका हुन् ।

 गुल्मी जिल्लामा करिब ३० जना कृषकले व्यावसायिक रुपमा फूल खेतीमा आबद्ध रहेका छन् । पछिल्लो समय कृषिलाई आफ्नो व्यवसाय बनाएर लागेका युवा रेसुङ्गा नगरपालिका वडा नम्बर ६ का प्रेम नेपालीले फूल खेतीको सुरुवात गर्नुभएको हो । नेपालीले जग्गा भाडामा लिएर यस वर्ष २ रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा फूल खेती गर्नुभएको छ । अघिल्लो वर्षबाट फूल खेती शुरु गर्नुभएका नेपालीको फर्ममा यतिबेला तिहार पर्वलाई लक्षित गरेर फूलहरू फुलिरहेका छन् । ग त वर्ष पनि फुल खेतीमा राम्रो भएकाले यस वर्ष पनि फुल खेती गरेको व्यवसायी नेपालीले बताउनुभयो ।

जिल्लाभर १ सय जना सामान्य रुपमा फूल खेती गर्ने कृषकहरू रहेका छन् । जिल्लामा अघिल्लो वर्ष १ सय रोपनी क्षेत्रफलमा फूल खेती भएको थियो । तर यस वर्ष ५० रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गर्दै आएका छन् । अघिल्लो वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले कृषकले उत्पादन क्षेत्रफल घटाएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । 

तिहारको पाँचौँ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहिआएको छ । त्यसैले गर्दा यस समयमा विभिन्न जातका फूलको माग बढी हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button