कर्णाली प्रदेशमा सबैभन्दा बढी जन्म दर्ता
सुर्खेत । कर्णाली प्रदेशमा जन्म दर्ता गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जन्म दर्ताको विवरण अनुसार सबैभन्दा बढी कर्णालीमा र सबैभन्दा कम जन्म दर्ता गर्ने बागमती प्रदेशमा रहेको पाइएको हो । आर्थिक सर्वेक्षण २०८९/०८० अनुसार कर्णाली प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी जन्म दर्ता भएको जिल्ला कालिकोट (९४.४ प्रतिशत) र सबैभन्दा कम जन्मदर्ता भएको जिल्ला सुर्खेत (७६.८ प्रतिशत) रहेको छ । नेपालमा मातृ मृत्युदर (प्रति लाखमा) १५१ रहेको छ भने कर्णाली प्रदेशको मातृ मृत्युदर १७२ रहेको छ ।
नेपालमा ५ वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ३० लाख ७ हजार ६ सय ४८ रहेकोमा ७४.० प्रतिशतले जन्म दर्ता गरेका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाको सङ्ख्या २ लाख ४ हजार ६ सय ३८ रहेकोमा ८७.३ प्रतिशतले जन्म दर्ता गरेका छन् ।
विगत १० वर्षमा कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्ये ५५ स्थानीय तहको जनसङ्ख्या बढेको छ भने २४ स्थानीय तहको जनसङ्ख्या घटेको छ । प्रदेशका ७९ स्थानीय तह मध्ये सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर भएको स्थानीय तह वीरेन्द्रनगर नगरपालिका (वार्षिक जनसङ्ख्या वृद्धिदर ४.०९ प्रतिशत) र सबैभन्दा बढी जनसंखया घटेको स्थानीय तह भैरवी गाउँपालिका (वार्षिक जनसङ्ख्या वृद्धिदर (१.१८ प्रतिशत) रहेको छ । नेपालको कुल जनसङ्ख्या मध्ये २.२२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । कर्णाली प्रदेशको कुल जनसङ्ख्या मध्ये ३.१२ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता हरेको छ ।
प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी अपाङ्गता भएको जिल्ला जाजरकोट (४.९४ प्रतिशत) र सबैभन्दा कम अपाङ्गता भएको जिल्ला जुम्ला (२.२९ प्रतिशत) रहेको छ । आर्थिक सर्वेक्षण २०८९/०८० अनुसार कर्णाली प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी साक्षरता दर भएको जिल्ला सुर्खेत (८२.७ प्रतिशत) र सबैभन्दा कम साक्षरता दर भएको जिल्ला हुम्ला (६३.८४ प्रतिशत) रहेको छ ।
त्यस्तै प्रदेशका ७९ वटा स्थानीय तहहरु मध्ये सबैभन्दा बढी साक्षरता दर भएको स्थानीय तह वीरेन्द्रनगर नगरपालिका (८७.१६ प्रतिशत) र सबैभन्दा कम साक्षरता दर भएको स्थानीय तह शे–फोक्सुन्डो गाउँपालिका (४५.०३ प्रतिशत) रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्