तपाईँ सुन्दै हुनुहुन्छः

कपनमा शारदीय कविता वाचन

काठमाडौँ । एक सय १६ औँ लक्ष्मी जयन्ती तथा तिहारका अवसरमा कपन साहित्य समाजका आयोजनामा आज स्थानीय स्थानीय आकाशेधारास्थित ‘यात्री स्मृति सभाकक्ष’ मा शारदीय कविता वाचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख एवं कवि अनिता लामा, समाजका अध्यक्ष गणेशकुमार मिश्र, महासचिव लक्ष्मण अधिकारी, सचिव त्रिलोचन आचार्य तथा स्थानीय साहित्यकार ओमप्रसाद कोइराला, ढुण्डिराज मरासिनी, बिसुकुमार केसी, थरेन्द्र बराल, भारद्वाज मित्र, श्याम रिमाल, विनोद दाहाल ‘वत्स’, माधवलाल श्रेष्ठ, पुरुषोत्तम नेपाल, रत्न उप्रेती, बद्री आचार्य, होमकुमारी दुलाल, श्यामा पन्त, पवित्रा चिमोरिया, कमला खनाल, अग्रता नेपाललगायतले देशप्रेम, आमाप्रतिको ममता, उपभोक्तावादी संस्कृति आदि विषयमा आआफ्ना कविता तथा महाकवि देवकोटाका कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख लामाले अरूले आ–आफ्नै किसिमले चाडबाड मनाए पनि साहित्यकारहरूले भने साहित्य सिर्जना र वाचन गरेर मनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय राजनीतिकर्मी एवं समाजसेवी लक्ष्मीप्रसाद सङ्ग्रौलाले कपनमा साहित्य, कला, संस्कृति विस्तार गर्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा सहभागी कविहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

समाजले बर्सेनि एक जनालाई ‘यात्री स्मृति सम्मान’, समय समयमा ‘कपन दर्पण’ सँगालो (चार अङ्कसम्म) र ‘कविता क्यालेन्डर’ वार्षिक भित्रेपात्रो प्रकाशन, कृति विमोचनलगायत अन्य साहित्यिक कार्यक्रम पनि गर्दैआएको छ ।

साहित्यकार तथा अन्वेषक पूर्णप्रकाश नेपाल यात्री, साहित्य प्रेमी तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायतका सक्रियतामा बूढानीलकण्ठ–१० मा विसं २०६१ मा समाज स्थापना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button