इन्ट्राको तिहार कार्यक्रममा अमेरिकी सांसद
अमेरिका । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा अमेरिकाका सांसदहरुले नेपालीहरूसँगै तिहार उत्सव मनाउनुभएको छ ।

सस्कीहाना टाउनसिप मिडल स्कुलको अडिटोरियम हलमा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्वारा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी सङ्घीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरी र उहाँको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरु डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिस्नर टम कनोलीसहितले नेपाली मूलका बालबालिकाहरू र तिनका अभिभावकसँगै देउसी भैलोमा रमाइलो गर्नुभएको हो ।
कार्यक्रममा पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यान्कास्टर, स्क्रान्टन र पिट्सवर्ग सहरको इन्ट्रा म्युजिक स्कुलका बालबालिकाले नेपाली सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न फाउण्डेशनले अमेरिकाका विभिन्न शहरमा सांस्कृतिक नृत्य तथा गायनका निःशुल्क कक्षाहरू सञ्चालन गरेको जानकारी दिनुभयो । ती कक्षामा नेपाली मूलका एक हजार एक सय बढी बालबालिका एवं किशोर किशोरीले नृत्य र गायन सिकिरहेको उहाँले बताउनुभयो ।
अमेरिकी सङ्घीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरीले आआफ्नो संस्कृति स्वतन्त्र र सुरक्षित रुपमा मनाउन पाउनुपर्नेमा जोड दिनुभयो । आफ्ना पूर्वज कोलम्बियाबाट आएको, आफ्ना ‘चिफ अफ स्टाफ’का पूर्वज इटलीबाट आएको बताउनुहुँदै नेपाल र भुटानबाट आएका नेपालीको सांस्कृतिक उत्सवमा भाग लिन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । पेन्सिलभिनिया राज्यका सांसद डेभ म्याडसनले नेपाली मूलका बालबालिकाले प्रस्तुत गरेको आफ्नो सांस्कृतिक नृत्यले आफू प्रभावित भएको बताउनुभयो ।
नेपाली सांस्कृतिक नृत्य र शास्त्रीय गायन कक्षामा सम्मिलित पहिलो वर्षको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्