नेपाल एयरलाइन्सद्वारा टीकापुरमा परीक्षण उडान
टीकापुर कैलाली । कैलालीको टीकापुर हवाई मैदानको पुनः परीक्षण गरिएको छ ।
परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतको प्राविधिक टीम आएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परीक्षणका लागि जहाज पठाएपछि यहाँका नागरिक खुशी भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले सङ्घीय सरकारले सेवा निरन्तर गर्न सहयोग गरे प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न अनुदान दिनसक्ने बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले सङ्घीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताउनुभयो ।
टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौँ, धनगढी, नेपालगञ्जमा हवाई यातायात चलेको थियो ।
वि.सं २०४१ सालदेखि एक दशक प्रयोगमा आएर टिकापुरको हवाई यातायात बन्द भएको थियो । तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले पनि टीकापुर हवाई मैदानमा परीक्षण उडान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्