तीन दशकदेखि सडकपेटिमै, ठाउँ अभावले व्यवसाय सङ्कटमा
बाँके। कोहलपुर नगरपालिका–१२ को बजार छेउमा बसेर फाटेका जुत्ता, चप्पल सिउने ६५ वर्षीय बाबुराम बस्यालको जीवनका तिन दशक यही सडक छेउमै बितेका छन्।
कोहलपुर–११, शिवटोल निवासी बस्यालको पुर्ख्यौली पेसा जुत्ता चप्पल सिउने काम भएकाले यही कामबाट उनी आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ। तर, हाल नगर प्रहरीले सडक छेउबाट हटाउन थालेपछि बस्याल र उहाँजस्ता अन्य साना व्यवसायीहरू गम्भीर समस्यामा परेका छन्।
वर्षौंदेखि एकै स्थानमा बसेर आफ्नो काम गर्दै आएका बाबुराम बस्याल नगर प्रहरीले एकाएक उनीहरूलाई सडकबाट हटाउन थालेको बताउनुहुन्छ। ‘पहिले कहिल्यै कसैले हट्नुपर्छ भनेन, तर अहिले नगर प्रहरीले हामीलाई सडक छेउमा बस्न नदिँदा समस्या भएको छ’, बस्यालले गुनासो व्यक्त गर्नुभयो । नगर प्रहरीले कहिले सामान जफत गरेर लैजाने, कहिले लखेट्ने गरेको उहाँ बताउनुहुन्छ।
यो समस्याले बाबुराम मात्रै नभई, उहाँजस्ता अरू सडक छेउमा काम गर्ने साना व्यवसायीहरूको जीविकोपार्जनमा ठूलो असर पारेको छ। उनीहरूलाई बजार अगाडि बस्न नदिएपछि त्यहाँका घरधनीहरूले भाडा माग्ने, सामान राख्ने ठाउँ नदिने गरेको छ। यो अवस्थाले ठेला व्यापारीदेखि लिएर आइस्क्रीम बेच्नेहरू सम्मको रोजगारीमा समेत समस्या देखिएको छ।
हाल सडक छेउमा बसेर दिनभरि जुत्ता सिलाउने बाबुरामलाई कुनै दिन ६ सय त कुनै दिन ७ सय रुपैयाँसम्म आम्दानी हुने गरेको छ। उहाँले नयाँ छालाका जुत्ता बनाउन पनि अर्डर आए बनाउने गर्नुहुन्छ, तर स्थान र सुविधा नहुँदा नियमित रूपमा यो काम गरेर परिवारको गुजारा चलाउन धौ धौ परेको छ।
सडकछेउमा बस्न नदिने भए, स्थानीय सरकारले वैकल्पिक रूपमा व्यवस्थित स्थानको व्यवस्था गर्नुपर्ने बाबुरामको माग छ। नगरपालिकाले व्यवसायलाई आधुनिकीकरण गर्दै बजार क्षेत्रमा निश्चित स्थान छुट्ट्याएर काम गर्ने वातावरण दिनुपर्ने बाबुरामको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्