‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुँदै
काठमाडौँ । हात्तीवन, ललितपुरमा शनिबार (१० कात्तिकमा) ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिँदै छ । यस सिद्धान्तको सान्दर्भिकताबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले काठमाडौँ विश्वविद्यालय परिसरमा सङ्गोष्ठी आयोजना गरिएको आयोजक संस्था सहृदयता समाज नेपालले जानकारी दिएको छ ।

सङ्गोष्ठीमा विभिन्न विश्वविद्यालयका विद्यावारिधि (पिएचडी) शोधार्थीहरू सहित २४ जनाले अनुसन्धान पत्र प्रस्तुत गर्दै छन् । सङ्गोष्ठीको उद्घाटन प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गर्नुहुनेछ भने काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा. अजय रिसालले ‘श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता’ शीर्षकमा बीज–वक्तव्य (कीनोट स्पीच) दिनुहुनेछ ।
सङ्गोष्ठीको समापन सत्रमा प्रसिद्ध संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक एवं विश्व संस्कृत दिवस कार्यपरिषदका अध्यक्ष प्रा.डा. माधवप्रसाद पाण्डेय र सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक एवं गीता फर लाइफ अभियानका अभियानकर्ता डा. हरिचन्द्र कमलीले मन्तव्य दिनुहुनेछ ।








प्रतिक्रिया राख्नुहोस्