जनकपुरमा महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्री

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ ।
होटेल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करिब ६५ हजार किलो लड्डु बिक्री भई रु तीन करोड बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।
हंसराज मिठाइ पसलका सञ्चालक सन्तोष गुप्ताले विभिन्न शक्ति पीठमा प्रसादका रूपमा चढाउन बजारमा फरक फरक प्रकारका लड्डुको बिक्री भएको बताउनुभयो । यहाँ रिफाइन घ्यूवाला, शुद्ध घ्यूवाला, मोतीचुर, महीनदाना, गोंद, मेवालगायत लड्डु पाइने गरेको उहाँले जानकारी दिनुभयो । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री हुने गरेको गुप्ताले बताउनुभयो ।
जनकपुरधाम मुख्य बजार क्षेत्रमा दुई सयभन्दा बढी मिठाइ पसल रहेका छन् । बजारमा बुधवार साँझदेखि नै मिठाइ पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने बिहीबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।







प्रतिक्रिया राख्नुहोस्