बास गुमाएकाहरूलाई तत्काल पुनर्वासको व्यवस्था गर्न एमालेको आग्रह
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घर बास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुनः वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
पार्टी सचिवालयको आज केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुनः वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भए पनि सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरूको उद्धार गरेको बताउनुभयो ।
उहाँले सरकारले अझ बढी सक्रिय भई विपद् प्रभावितहरूको पुनः वास र पुनर्निर्माणका लागि प्रभाकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै बैठकले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्ता र जनप्रतिनिधिलाई आह्वान गरेको छ ।
बैठकले मङ्सिरमा उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटीले सक्रिय रूपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्ने गरी उपनिर्वाचनको तयारी गर्न आह्वान गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
यस्तै बैठकले च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा कीर्तिपुर नगरपालिका–२ मा पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्