भत्किएका सडक र पुल निर्माणमा जुट्यो नेपाली सेना
'खुर्कोटमा बेलीब्रिज राख्ने कार्य जारी'
काठमाडौँ । बाढी पहिरोबाट सिन्धुलीस्थित खुर्कोट पुल भत्किदा दशैको मुखमा नागरिकहरू अलपत्र परेपछि नेपाली सेनाले पुल निर्माण कार्यलाई तीव्रता दिएको छ ।
विपी राजमार्ग र पुष्पलाल राजमार्गमा पर्ने खुर्कोट पुल बगाएपछि नेपाली सेनाले बेलीब्रिज जडान कार्यलाई तीव्रता दिएको हो ।
नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेलिब्रिज जडान कार्य सुरु गरेको छ । यही असोज १० र ११ गते सुनकोसीमा आएको बाढीले खुर्कोटकाे पुल बगाएको थियो ।
नेपाली सेनाले खुर्कोटमा बेलीव्रिज हाल्ने कार्य निरन्तर गरिरहेको सेनाका प्रवक्ता एवं सहायक रथि गौरव केसीले जानकारी दिनुभयो ।
उहाँले खुर्कोटमा बेलीब्रिज जोड्न सबै पार्टपुर्जा उपलब्ध हुने क्रममा रहेको र सबै सामान प्राप्त भएपछि लगभग १० दिनभित्र जडान गरिसक्ने बताउनुभयो ।
प्रवक्ता केसीले भन्नुभयो ‘पुल जोड्ने पार्टपुर्जा अझै पर्याप्त मात्रमा आइपुगेको छैन, टिमले काम गर्दैछ, सामान पनि आउँदै छ, काम गर्दा के के परिस्थिति आउँछ, आशा छ जतिसक्दो चाँडो खुलाउने प्रयास गर्नेछौ ।’
प्रवक्ता केसीले खुर्कोट पुल बनेपछि सिन्धुली र रामेछापका नागरिकलाई सहज हुने र यसबाट दोलखाका नागरिकले पनि लाभ लिन सक्ने बताउनुभयो ।
अरनिको राजमार्ग प्रयोग गरी दोलखा सवारी आवागमन भइरहेको छ । बेलीब्रिज निर्माण सकिएपछि त्यो क्षेत्रमा सहज हुने देखिन्छ’ प्रवक्ता केसीले बताउनुभयो ।
यसैगरी नेपाली सेनाले हेटौडा जोड्ने कान्ति लोक पथमा वगुवा खोलाको पुलमा क्षति भएपछि त्यहाँ डाइभर्सन गरेर बाटो निर्माण गरिरहेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाले रोशी करिडोरमा काठको पुल निर्माण गरिएको, बिजुलीको पोलको व्यवस्थापन, रुख हटाउने लगायत उद्धार र निर्माण कार्य करिब ३०/३५ स्थलमा गरिरहेको छ ।
विपी राजमार्गमा सडकमा ठुलो क्षति भएकाले सडक डिभिजन र नेपाली सेनासहितको विज्ञ टोलीले अध्ययन गरिरहेको र हाललाई वैकल्पिक माध्यमको प्रयोग गरी त्यस क्षेत्रमा आवागमनलाई सहज बनाउने जानकारी सेनाका प्रवक्ता केसीले दिनुभयो ।
प्रवक्ता केसीले भन्नुभयो ‘नेपाली सेनासहितको सडक विभागको प्राविधिक इन्जिनियरको टिमले बाढी पहिरोबाट क्षति भएका विभिन्न स्थानका सडक र पुलको अध्ययन गर्ने कार्य गरिरहेको छ, अध्ययनको प्रतिवेदनपछि नै कसरी काम गर्ने भन्ने टुङ्गो लाग्छ ।’
बाढी पहिरोले बागमती प्रदेशका काठमाडौँ ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङलाई नराम्ररी प्रभावित बनाएपछि नेपाली सेनाले नागरिकको खोज तथा उद्धार कार्य गरेको थियो भने हाल नेपाली सेना सडक तथा पुल निर्माणमा जुटेको हो ।
प्रतिक्रिया राख्नुहोस्