नेपाली कांग्रेस र नेकपा एमालेद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०/५० लाख हस्तान्तरण

काठमाडौँ । हालै आएको अविरल वर्षापछिको बाढि पहिरो र डुबान प्रभावितहरूको राहत तथा पुर्नस्थापनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले आज सरकारलाई राहत रकम हस्तान्तरण गरेका छन् ।
दलको प्रतिनिधीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसमक्ष भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५०/५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
राहत रकम हस्तान्तरणका लागि नेपाली काँग्रेसका तर्फबाट पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरू सिंहदरबार पुग्नुभएको थियो भने नेकपा एमालेका तर्फबाट पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीमा महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

राहत रकम हस्तान्तरणका अवसरमा नेपाली काँग्रेस तर्फबाट सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले सरकारलाई तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने विभिन्न ३४ बुँदे सुझावसमेत दिनुभयो ।
राहत रकम बुझ्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्ष एकताबद्ध भई प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने मुख्य भावनाका साथ नेपाली काँग्रेसले दिएका सुझावका आधारमा सरकार अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बाढि प्रभावितहरूको पुनर्स्थापना तथा राहत वितरणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार एवं राज्यका सम्पूर्ण निकायहरू परिचालित भइरहेको स्पष्ट गर्नुभयो ।
सत्तारुढ दुवै राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०/५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेका थिए ।


प्रतिक्रिया राख्नुहोस्