तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा सुरक्षित गर्भपतन गराउनेतर्फ आकर्षण बढ्दै

वीरगंज । पर्सामा सुरक्षित गर्भपतन गराउनेतर्फ युवती तथा महिलाको आकर्षण बढ्दै गएको छ । विगतका बर्सहरूमा असुरक्षित गर्भपतनका कारण कयौँ किशोरीहरूको ज्यान जाने गरेको भएपनि बिगत केहीबर्षयता पर्सामा सुरक्षित गर्भपतन गराउने तर्फ युवति तथा महिलाहरूको आकर्षण बढ्दै गएपछि असुरक्षित गर्भपतन गराउने कार्य नियन्त्रण हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पर्सामा गत आर्थिक बर्ष २०८०/८१ मा १ हजार ६ सय ७१ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । जबकि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या १ हजार ४ सय ९८ रहेको थियो ।


स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा यादवका अनुसार,पर्सामा गत आर्थिक वर्षमा २० वर्ष मुनिका १३७ जना युवतीले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्ष माथि उमेरका १ हजार ५३४ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।तीमध्ये १२ हप्तासम्मको गर्भपतन गराउनेको सङ्ख्या १ हजार ६२६ छ भने १२ हप्ताभन्दा बढीको गर्भपतन गराउनेको सङ्ख्या ४५ मात्र रहेको यादवले जानकारी दिनुभयो ।


यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने पर्सा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या १ हजार ४९८ मात्र थियो । तीमध्ये २० वर्ष मुनिका ५९ र २० वर्षमाथिको सङ्ख्या १ हजार ४३९ थियो । अघिल्लो आर्थिक वर्षमा पर्सामा १२ हप्तासम्मको गर्भपतन गराउने १ हजार ४६९ जना र १२ हप्ताभन्दा बढीको गर्भ पतन गराउने २९ जना थिए ।
मधेस प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेको छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाले उपलब्ध गराएको तथ्याङ्कमा, वीरगन्ज महानगरमा गत आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३७७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जबकि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने उक्त सङ्ख्या १ हजार २ सय ८९ जना रहेको स्वास्थ्य महाशाखाकी अधिकृत इन्दिरा लोहनीले जानकारी दिनुभयो ।
पर्सामा सुरक्षित गर्भपतनका बारेमा नागरिकमा सचेतना बढ्दै गएका कारण यो सेवा लिनेहरूको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत यादवले बताउनुभयो ।


वीरगंज सहित पर्साका १४ वटै पालिकामा किशोर किशोरीलाई लक्षित गर्दै असुरक्षित यौन सम्पर्क, यसले पार्ने असरका साथै सुरक्षित गर्भपतन बारे सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएपछि यसतर्फ किशोरी तथा महिलाहरूको आकर्षण बढ्दै गएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button