उपराष्ट्रपति यादवसँग माल्टाका राजदूत गौसीको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय महामहिम राजदूत रुबेन गौसीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा शुभकामना आदान प्रदान पश्चात् नेपाल र गणतन्त्र माल्टाबीचको द्विपक्षीय सम्बन्ध तथा लगानी, व्यापार, पर्यटन, श्रम लगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावनाबारे महत्वपूर्ण छलफल भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले बताउनुभयो ।
‘सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच कायम रही आएको मैत्रीपूर्ण सम्बन्धप्रति म खुशी व्यक्त गर्दछु’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ मित्रता, सौहार्दता र सहयोगमा आधारित माल्टासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने गरेको छ । अगामी वर्षहरुमा यो सम्बन्ध थप सुदृद्ध हुँदै जाने विश्वास लिएको छु ।’ उहाँले नेपाल र माल्टाबीच लगानी, व्यापार, पर्यटन, श्रम लगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावना रहेको बताउनु भयो ।

उपराष्ट्रपति यादवले उल्लेख्य सङ्ख्यामा नेपालीहरू उच्च शिक्षा तथा रोजगारीको क्षेत्रमा माल्टामा रहेको जानकारी पाएर आफूलाई खुशी लागेको बताउनु भयो । ‘नेपाल एक भूपरिवेष्टित मुलुक र माल्टा एक टापु मुलुक भए पनि हाम्रा दुई राष्ट्रहरूले बहुपक्षीय मञ्चहरूमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा हित र चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूमा सहकार्य गरिरहेका छन्’ उहाँले भन्नुभयो ।
उहाँले सन् २०१६ सम्म नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन हामीलाई विकास साझेदारहरूबाट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक पर्ने बताउनु भयो । यसका लागि माल्टाको साथ र सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले द्विपक्षीय र बहुपक्षीय तहमा पारस्परिक लाभका लागि माल्टासँग मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने नेपाल तत्पर रहेको बताउनु भयो ।
नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय महामहिम राजदूत रुबेन गौसीले नेपालसँग माल्टाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै आफू ‘नेपाल–माल्टा च्याम्बर अफ कमर्स’ स्थापना गर्न चाहेको बताउनु भयो । उहाँले नेपालको सुन्दरता र आतिथ्यताप्रति खुशी व्यक्त गर्दै माल्टामा १० हजार नेपालीहरू विभिन्न क्षेत्रमा काम गरिरहेको पनि बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्