तपाईँ सुन्दै हुनुहुन्छः

बजारको अनुगमन गर्नुपर्नेमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको नेपाल विश्वविद्यालय विधेयकलाई प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

राष्ट्रिय सभाको आजकै बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ टेबुल भएको छ ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभामा पठाइएको सार्वजनिक सेवा प्रसारण विधेयकका सम्बन्धमा प्राप्त सन्देश सभा समक्ष जानकारी गराउनुभई टेबुल गर्नुभयो ।

यस्तै बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दलित समुदायको रैथाने सीप, ज्ञान र पेसाको आधुनिकीकरण गर्न, रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रमका लागि बजेट छुट्ट्याइएको बताउनुभयो ।

बैठकमा मन्त्रालयगत प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले दलित समुदायको आर्थिक सशक्तीकरण कार्यको संस्थागत विकास गर्ने कार्यक्रमका लागि २० करोड बजेट छुट्याई कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाउने कार्य भइरहेको बताउनुभयो ।

यसअघि सांसदहरुले संविधानको सबल कार्यान्वयनमा सबै दलहरू एक हुनुपर्ने बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्ने सांसदहरुले मुलुकलाई सही दिशामा लैजान संविधानको कार्यान्वयनमा भएका कमी कमजोरीलाई सुधार गदै अघि बढ्न सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले चाडपर्व नजिकिएसँगै खाद्य वस्तु र यातायातमा मूल्य वृद्धि भएकोले स्थानीय बजारको अनुगमन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

यस्तै बैठकमा सांसदहरुले कृषिको आधुनिकीकरणमार्फत निर्यात र रोजगारी वृद्धि गर्न प्रविधि भित्राउन आवश्यक कदम बढाउनुपर्ने, कृषि क्षेत्रमा वैदेशिक अध्ययन तथा अनुभव हासिल गरेका नागरिकलाई रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि भदौ ३१ गते सोमबार १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button