तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो हुने गरी काम गर्न सञ्चार मन्त्रालय आबद्ध कर्मचारीहरूलाई मन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुने गरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उहाँले सधैँ पहिलो हुने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताउनुभयो । उहाँले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टेबल हुनुपर्ने भन्दै काममा इमानदारितापूर्वक लाग्न आग्रह गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्ने गरी काम गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी २२ वटा मन्त्रालय छ । प्रधानमन्त्री कार्यालयसहितको । यो प्रतिस्पर्धा पनि हो । त्यसैले हाम्रो मन्त्रालय यी सबै मन्त्रालयहरूमा कहिल्यै पनि दोस्रो हुनु हुँदैन । हामी पहिलो नै हुनुपर्छ । हाम्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टेबल हुनुपर्छ यो उपलब्धि हासिल गर्ने कुरामा । त्यसका लागि म सबै कर्मचारी साथीहरूलाई इमानदारितापूर्वक लाग्न अनुरोध गर्न चाहन्छु ।’

यो फलानोको हो, यसको जसरी पनि विरोध गर्नुपर्छ भनेर हुँदैन । इमानपूर्वक काम गर्नेलाई मेरो ढोका जहिले पनि खुला छ । सुझाव राख्नका लागि जहिल्यै आउनुस् । कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन । यो कुराबाट मुक्त भएर काम गरौँ । अरू मन्त्रालयलाई पनि सन्देश दिऔँ न, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जस्तो होस् ।’

मन्त्री गुरुङले दक्षिण एसियामा सबैभन्दा स्वायत्त, स्वतन्त्र मिडिया काउन्सिल नेपालकै हुने दाबी समेत गर्नुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका तर्फबाट सचिव राधिका अर्यालले रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामासँग कार्य सम्पादन सम्झौता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button