योजनाहरूको सफल कार्यान्वयन हुनुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले आयोगले राष्ट्रिय गौरवका आयोजना तथा रूपान्तरणकारी आयोजनाहरूको नतिजामूलक अनुगमन मूल्याङ्कन गरी समयमै सम्पन्न गर्न जोड दिँदै आएको बताउनुभएको छ ।
संघीय संसद् अन्तर्गतको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उपाध्यक्ष डा. अधिकारीले समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउने गरी जनताको अपेक्षा अनुसारका योजना तथा कार्यक्रमहरूको कार्यान्वयन गर्न आयोग लागिरहने बताउनुभयो ।
कार्यक्रममा समितिका सभापति ठाकुरप्रसाद गैरेले संवैधानिक दायराभित्र रहेर जनचाहना अनुसारका योजना तथा कार्यक्रमहरूको निर्माण गरी अघि बढ्न समितिले वार्षिक कार्य योजनाको तयारी गरिरहेको बताउनुभयो ।
सभापति गैरेले योजना आयोगसँग हातेमालो गरी समिति अगाडी बढ्ने र सरोकारवालाहरूको सुझाव र सल्लाहका आधारमा दिगो विकासमा मद्दत पुग्ने गरी समिति अघि बढ्ने प्रतिबद्धता पनि त्यस अवसरमा गर्नुभयो ।
यस्तै समितिको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्यहरुले आयोजनाहरूको सफल कार्यान्वयनका लागि सहकार्य र समन्वय गरी आयोग अघि बढ्न तयार रहेको धारणा राख्नुभयो ।
बैठकमा आयोगका सदस्यहरु डाक्टर आर.पी बिच्छा, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौड्याल अधिकारी, डा. जयबहादुर टन्डन र गङ्गादत्त अवस्थीले आ –आफ्नो धारणा राख्नुहुँदै राष्ट्रिय योजना आयोगलाई प्रभावकारी ढंगले अघि बढाउन नयाँ नीतिको खाँचो रहेको बताउनुभयो ।
समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले समितिको निर्देशन र सुझावको कार्यान्वयनमा प्रधानमन्त्री कार्यालयको साथ र सहयोग हुने बताउनुभयो ।
यसअघि बैठकमा सांसदहरुले नीतिको समस्या नरहे पनि कार्यान्वयनको समस्या हुँदा धेरै योजनाहरू समयमा सम्पन्न हुन नसकेको, पहुँचका आधारमा बजेट बिनियोजन गरिने बेथितिका कारण सन्तुलित बजेट विनियोजन हुन नसकिरहेको आरोप लगाउँदै त्यसमा आयोगको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको धारणा राख्नुभयो ।
सांसदहरुले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने कामलाई विशेष महत्व दिई देशको परिस्थिति र आवश्यकता अनुसार देशको कायापलट हुने गरी सन्तुलित बजेट विनियोजन गरिनुपर्ने, कुरा र काममा एकरुपता दिनुपर्ने, जनताका अपेक्षालाई सक्दो छिटो सम्बोधन गर्ने गरी कार्यक्रम तथा योजनाहरूको निर्माण र कार्यान्वयनलाई जोड दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
यसरी बैठकमा धारणा राख्ने सांसदहरूमा दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमिल्सीना, हितराज पाण्डे, बुद्धिमान तामाङ, प्रभु हजरा, सन्तोष परियार, सरस्वती सुब्बा, प्रतिमा गौतम, मदनकुमारी शाह र लालप्रसाद सावाँ लिम्बु हुनुहुन्थ्यो ।











प्रतिक्रिया राख्नुहोस्