सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धि लगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । राष्ट्र बैङ्कबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँच वटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो । राष्ट्र बैङ्कबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो ।
उहाँले भन्नुभयो, “उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झण्डै रु सात हजार महँगो पर्छ, यस्तो किन?, सरकारले पहिला उपभोक्ता हर्ने हो त्यसपछि व्यवसायीलाई हेर्नुपर्छ ।” सुनचाँदी व्यवसायीका मागका बारेमा सरकारका तर्फबाट आफूले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहलकदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाउनुभयो ।
चोरी पैठारीका कारण नेपालका सुनचाँदी व्यवसायी मर्कामा परेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “चोरी पैठारी रोक्न सके व्यवसायीले मर्का बेहोर्नु पर्दैन, सुनचाँदी व्यवसायीको उचित व्यवस्थापन जरुरी छ ।” नेपालको सुनचाँदी व्यवसायमा कार्यरत झण्डै ६० प्रतिशत कालीगढ विदेशी रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले स्वदेशी कामदार बढाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्