तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री सिंहद्वारा ऐतिहासिक तेलहा पोखरी निरीक्षण

धनुषा । जनकपुरधामस्थित ऐतिहासिक तेलहा पोखरीमा पानी फोहोरा, ‘डिजिटल लाइटिङ’ तथा पोखरी डिलमा व्यवस्थित विश्रामस्थल बनाइने भएको छ  । 

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज धार्मिक महत्व रहेको तेलहा पोखरीलगायत स्थानको अवलोकनपछि सो जानकारी दिनुहुँदै जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरसँगै डिजिटल लाइटिङ राख्न आवश्यक सहयोग गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “धार्मिक नगरी जनकपुरधामका पुरातात्त्विक स्थान संरक्षण तथा संवर्द्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ । ” केही समय अगाडि पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो । मुख्यमन्त्री सिंहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको थप संरक्षणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताउनुभयो ।

मुख्यमन्त्री सिंहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षारोपण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको थियो ।  जानकी मन्दिरका  महन्थ रामरोशन दासले ५० वर्षभन्दा बढी समयदेखि पोखरी वरपर पसल सञ्चालन भइरहेकाले वैकल्पिक व्यवस्था नहुँदासम्म खाली गराउन कठिन हुने बताउनुभएको छ । मुख्यमन्त्री सिंहले जानकी मन्दिर परिसरको  समेत अवलोकन गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button