जलवायु परिवर्तनको प्रभावबाट किशोरी तथा महिलालाई जोगाउन मधेशमा परियोजना
जनकपुरधाम । जलवायु परिवर्तनको कारणले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा परेको नकारात्मक प्रभावबाट किशोरी तथा महिलाहरू लक्षित गरेर मधेश प्रदेशका ८ जिल्लामा ग्लोबल गर्ल्स क्रिएटिभ चेन्ज परियोजना शुरु भएको छ ।
रेसलेस डेभलपमेन्टको सहयोगमा मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि परेको मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लामा परियोजनाको काम आजदेखि सञ्चालनमा आएको हो ।
जलवायु परिवर्तनमा नेपालको योगदान ०.०२७ प्रतिशतले जिम्मेवार भएपनि वर्षेनी रुपमा बाढी, सुख्खा, हुरी बतास, लु, असमयको वर्षा, तिलहर तथा रोगको अत्यधिक प्रकोप देखिएको कारणले नेपालको आर्थिक तथा सामाजिक क्रियाकलापमा नकारात्मक असर पारेको र यसको सबै भन्दा जोखिममा मधेशका किशोरी तथा महिलाहरू रहेकाले यिनीहरूलाई लक्षित गरेर परियोजनाले काम गर्ने भएको छ ।
लाईफ नेपाल र एसओडिसिसद्वारा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लामा दुई वर्षका लागि गर्ल्स च्याम्पियनका किशोरीहरूद्वारा सञ्चालन हुने लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनका कारणले किशोरी तथा महिलाहरूलाई थप पछाडि पार्ने पार्ने काम गरेकाले कुसंस्कार, लैङ्गिक असमानता, सामाजिक विभेदहरूका विषयमा विद्यालय तथा समुदायमा छलफल गर्ने, जलवायु परिवर्तन पैरवी योजना तयार गर्ने, विभिन्न मञ्चहरूमा जलवायु परिवर्तनले किशोरी तथा महिलामा परेको प्रभावको विषयमा आवाज बुलन्द गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने रेसलेस डेभलप्मेन्ट नेपालका कार्यक्रम प्रबन्धक सङ्गीता महर्जनले जानकारी दिनुभयो ।
परियोजनाको शुभारम्भ गर्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले सात प्रदेशमा नै सामाजिक रुपमा निक्कै पछाडि परेको मधेश प्रदेशको अवस्थामा सुधारका लागि सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्