तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । पहिरोले कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षापछि सोमबार कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो । पटक पटक भइरहेको सडक अवरुद्धले यात्रुलाई सास्ती भएको छ ।

कालिकोटको खाडाचक्र–१० चौखोला नजिकै ठुला ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटिले बताउनुभयो । उहाँका अनुसार अविरल वर्षा जारी रहेकोले एक ठाउँको पहिरो पन्छाउन पाएकै अर्को स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

बिहान भएको अवरुद्ध खुले पनि दिउँसो १ बजे जुम्ला–कालिकोट खण्डको चौखोलामा ठुला ठुला ढुङ्गा सहितको पहिरो आउँदा फेरी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । विभिन्न ठाउँमा आएको पहिरो पन्छाइ सकिएको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले चौखोलामा पहिरोसँगै खसेको ढुङ्गालाई विष्फोट गर्नका लागि नेपाली सेनासँग समन्वय भइरहेको बताउनुभयो ।

सडक अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । एक दिनमा पुग्न सकिने २३२ किमीको दुरीमा पहिरोका कारण अवरुद्ध हुन थालेपछि ४/५ दिन लगाएर गन्तव्यमा पुग्नुपरेको सुर्खेतबाट जुम्ला आउँदै गरेका कृष्णबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button