तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालले स्थापनाको एक सय ३० वर्षपछि बिरामीका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ।

बिरामीको भिड अत्यधिक बढ्दै जाँदा अस्पतालमै पुगेर सास्तीपूर्ण तरिकाले टिकट काट्नुपर्ने बाध्यतालाई सहज बनाउन उक्त प्रणाली सुरु गरिएको हो। अस्पतालले शुक्रवारबाट सेवाग्राहीहरूले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को सुरुआत गरेको हो ।

भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अस्पतालमा सयौँको सङ्ख्यामा बिरामी सेवाग्राहीको घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नका लागि अस्पतालले अनलाइन टिकेट सेवाको सुरुआत गरेको बताउनुभयो ।

“अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी नागरिकहरू सेवा लिन आउने गर्नुहुन्छ, उहाँहरू टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता रहेको छ ।” मेसु थापाले भन्नुभयो, “घण्टौँ सम्मको लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्नका लागि अनलाइन टिकेट सेवा सुरुआत गरेका छौँ, अहिले सुरुमा परीक्षणका लागि १०० टिकट काट्न मिल्ने गरी व्यवस्था गरेका छौँ, भविष्यमा यसको प्रभावकारिता हेरेर सोही अनुसार सङ्ख्यामा वृद्धि गर्नेछौँ ।”

मेसु थापाका अनुसार सेवाग्राहीले चेकजाँच गराउन चाहेको रोगको उपचारका लागि सम्बन्धित रोगसहितका विभाग र कोठा नम्बरसमेत वेबसाइटमा राखिएको छ । वेबसाइटमा गइसकेपछि सेवाग्राहीले आवश्यक जानकारीसहितको फाराम भर्नुपर्नेछ । सेवाग्राहीले फाराम भरिसकेपछि सेवा शुल्क बापत ३० रुपियाँ अनलाइनबाटै बुझाउनुपर्ने र आफूले चालेको मिति र समयमा टिकट बुक गर्न पाउनेछन् । सेवा शुल्क बुझाइसकेपछि एउटा टोकन नम्बर अनलाइनबाटै पाइने र सो टोकनलाई अस्पतालमा लगेर देखाएपछि तत्काल सेवा पाउने व्यवस्था गरिएको मेसु थापाले बताउनुभयो ।

हाल अस्पतालले ओपिडी टिकट काट्नका लागि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि १२ः३० बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ११ः३० बजेसम्मको समय छुट्टाएको छ । अनलाइन टिकेट सेवा भने चौबिसै घण्टा खुल्ला रहनेछ ।

अनलाइन टिकट काट्नका लागि अस्पतालको वेबसाइट www.bheri.hospital.gov.np मा गएरमा गई त्यहाँ रहेको फाराममा  https://bheri.opdticket.com/ आफ्नो विवरण भरी यो सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button