तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा हुने तिज महोत्सवमा राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता हुने 

पोखरा । पोखराको लामाचौरमा हुने तिज महोत्सव २०८१ मा राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता हुने भएको छ । नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा आउँदो भदौ महिनाको १९ देखि २१ गतेसम्म सञ्चालन हुने लामाचौर तिज महोत्सवमा पुरुष तथा महिला तर्फको राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता २०८१ हुने भएको समाजले जनाएको छ । 

महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५/५ टिमको सहभागिता हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा दुवै तर्फ तीन/तीन विभागीय नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब सहभागी हुने भएका छन्। त्यसै गरी पुरुष तर्फ गण्डकी प्रदेशको टिम सहभागी हुने भएको छ भने महिला तर्फ काठमाडौँको चर्चित न्यू डायमण्ड एकेडेमी सहभागी हुने भएको छ । अन्य क्लब तथा विभिन्न संघ संस्थाहरूसँग समन्वय भई रहेको अध्यक्ष भण्डारीले जनाउनु भयो  । 

लिगकम नकआउटका आधारमा खेलाइने भएकोले उक्त प्रतियोगिता भदौ १८ गते  देखि सुरु गर्ने तयारी गरिएको छ । प्रतियोगितामा विजेता हुने टोलीलाई एक लाख ५० हजार र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको पूर्व अध्यक्ष बुद्धि क्षत्री खत्रीले बताउनु भयो । त्यस्तै, प्रतियोगितामा बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार प्रदान गरिने भएको छ । 

उक्त महोत्सवको अवसरमा भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा राष्ट्रिय कलाकारको प्रदर्शन हुने भएको छ । गत बर्ष पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ र महिला तर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । समाज स्थापनाको २८ औँ वार्षिकोत्सवमा उक्त महोत्सव हुन लागेको हो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button