तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्ध वीरगन्जको लागि सबै जुट्नुको विकल्प छैन’

वीरगञ्ज । महिलाहरूलाई व्यापार तथा उद्यम क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले आज वीरगन्जमा वुमन क्रियशन को आयोजनामा व्यापार प्रदर्शनीको आयोजना गरिएको छ ।

वीरगन्जको दियालो लर्डस होटलमा आयोजित कार्यक्रममा महिलाद्वारा उत्पादित घरेलु हस्तकलाका सामाग्री, खाद्य सामाग्री, शृङ्गार सामाग्री, तयारी कपडा, इलेक्ट्रोनिक सामान, फाष्टफुडका विभिन्न परिकार सहितका स्टलहरू गरी ७० वटा स्टल राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगन्जको विकासका लागि सबै जुट्नुको विकल्प नभएको बताउनुभयो । उहाँले राजनीति चुनावको बेला गरौँ भन्नुहुँदै अहिले वीरगन्ज बनाउने अभियानमा एक जुट भएर आफूलाई साथ दिन सबै वर्ग र समुदायलाई आग्रह गर्नुभयो ।

उहाँले यो वर्ष वीरगंजबासीलाई धेरै कुराको उपहार दिने अभियानमा महानगर जुटेको दाबी गर्दै राम्रोलाई राम्रो, सहिलाई सही र गलतलाई गलत भन्न नसक्दा वीरगंंजको विकासले गति लिन नसकेको बताउनुभयो ।

नगरप्रमुख सिंहले राज्यलाई १ खर्व ५८ अर्ब राजश्व दिने वीरगन्जलाई सरकारले उपेक्षा गरेकोमा दुखेसो व्यक्त गर्दै वीरगन्जलाई राजश्व उठाउने केन्द्र मात्रै बनाइएको भन्दै गुनासो गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अशोक टेमानीले प्रदर्शनीमा भारतबाट समेत स्टलहरू आएको र यो मेला अन्तर्राष्ट्रिय एक्स्पो को रुपमा स्थापित भएको दाबी गर्दै महिलाहरूको सक्रियतामा प्रदर्शनीको आयोजना हुनुले वीरगन्जका महिलाहरू सक्षम रहेको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत सञ्जय कुमारले वीरगञ्जमा झण्डै २ हजार परिवार माडबारी समुदायको बसोबास रहेको र उनीहरू उद्योग, व्यापार र समाज सेवामा सक्रिय रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

वुमन क्रियशन वीरगन्जकी अध्यक्ष अन्जु रुंगटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, वरिष्ठ उद्योगपति अशोक वैद्य लगायतका उद्योगी व्यबसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button