वनलाई जनताको समृद्धिसँग जोड्ने गरी काम गर्नेछौँ : नवनियुक्त मन्त्री शाही

काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई जनताको जीविकोपार्जन र मुलुकको समृद्धिसँग जोड्ने गरी काम गर्ने बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुहुँदै उहाँले वन तथा वनस्पतिको संरक्षणसँगै यसलाई जनताको जीविकोपार्जनसँग पनि जोड्न आवश्यक रहेकामा जोड दिनुभयो । मन्त्री शाहीले मन्त्रालयसँग सम्बन्धित कामलाई परिणाममुखी बनाउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । जैविक विविधतालाई संरक्षण गर्दै पर्या–पर्यटनको विकासमा योगदान पुग्नेगरी काम गर्ने उहाँको प्रतिबद्धता थियो । मन्त्री शाहीले नियम कानुनले मिल्नेबाहेकका काममा आफूले कुनै दबाब नदिने तर कानुनअनुसार कर्मचारीले कुनै आनाकानी नगरी परिणाममुखी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले वनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनेगरी योजना बनाइने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मन्त्री शाहीलाई स्वागत गर्दै आफ्ना धारणा राख्नुभएको थियो भने मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाले मन्त्रालय र मन्त्रालय मातहतका निकायबारे जानकारी गराउनुभएको थियो । रासस







प्रतिक्रिया राख्नुहोस्