युवा पीढीलाई कुलतबाट जोगाउन खेलको गतिविधि बढाउन जरुरी : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले युवा पीढीमा देखिएको ड्रग्स जस्ता कुलतबाट जोगाउनका लागि विद्यालय तह देखि नै खेलकुदको विकास गर्न जरुरी रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री सिंहले ओलम्पिक दिवस २०२४ को अवसरमा मधेश प्रदेश स्पोर्टस फर अल कमिसनद्वारा विभिन्न विद्यालयमा सञ्चालन भएको विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई आज जनकपुरधाममा पदक तथा प्रमाणपत्र वितरण गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले विद्यालय तहबाट नै खेलकुदको विकास भएको खण्डमा मुलुकको लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार हुने बताउँदै प्रदेश सरकारले खेलकुद ऐन नै ल्याएर प्रदेशमा खेलकुदको विकास गर्न चाहेको बताउनु भयो ।
मुख्यमन्त्री सिंहले नियमित खेलकुदको अभ्यासका लागि जनकपुरधाम, राजविराज तथा वीरगञ्जमा ठूलो स्तरको रंगशालाको निर्माण गर्ने पक्षमा प्रदेश सरकार अगाडी बढेको बताउनु भयो ।
उहाँले खेलकुदको माध्यमले विश्वमा नै नेपालको प्रतिष्ठा बढाउने कार्यमा खेलाडीको अहम् भूमिका रहेकाले खेलकुदले खेलाडीका साथै राष्ट्रको पहिचान, सम्मान तथा प्रतिष्ठा बढाउने काम गर्ने गरेको बताउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले खेलकुदको विकास विद्यालय तहबाट गर्नका लागि नै उपमहानगरपालिकाले विभिन्न वडाहरूमा खेलकुद मैदानको निर्माणमा जोड दिनुका साथै विभिन्न प्रकारको प्रतियोगिता गर्दै आएको बताउनु भयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले ओलम्पिक दिवसको अवसरमा मधेश प्रदेशले विभिन्न विद्यालयहरूमा खेलकुदको आयोजना गरेर निक्कै सराहनीय कार्य गरेको बताउनु भयो ।
मधेश प्रदेशका स्पोर्टस् फर अल कमिसनका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरंग प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा महासचिव एवं संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम साह सहितका वक्ताहरूले प्रत्येक वर्ष ओलम्पिक दिवसको अवसरमा तीन सप्ताहसम्म विभिन्न प्रकारको खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्