तपाईँ सुन्दै हुनुहुन्छः

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पोखरा । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिएको छ ।

यस अगाडि जिल्लाका पाँच वटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसँगै आज जिल्ला स्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा आयोजित एक समारोहका बीच कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिएको हो ।

कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय कास्कीका अधिकृत बद्री आचार्यले बताउनुभयो ।

खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएसँगै उक्त घोषणा गरिएको उहाँले जनाउनुभयो ।

कास्की जिल्लाका पाँच वटै पालिकाका कूल ७२ वटा वडाका कुल ३० हजार ०७४ जना बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको अधिकृत आचार्यले जनाउनुभयो ।

घरधुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पुरा नगरेका १४० जना बालबालिकाहरूलाई खोप लगाउने व्यवस्था समेत मिलाइएको थियो भने १५ महिनासम्मका ७ हजार २ सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले बताउनुभयो ।

कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते जिल्ला पूर्ण खोप घोषणा गरे पश्चात् नयाँ जन्मने तथा अन्यत्रबाट कास्की जिल्ला भित्र आई बसोबास गर्ने सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गर्ने गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले बताउनुभयो ।

त्यस्तै १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार ८ सय ४७ जना बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको उहाँले जानकारी दिनुभयो । कास्की जिल्लामा पाँच वटै स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्था तथा बाह्य २ सय ३० खोप केन्द्रहरूमार्फत नियमित खोप सेवा प्रदान हँुदै आएको छ ।

यसैबिच, कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै सरकारले लिएको स्वास्थ्य नागरिक समृद्धिको महत्वपूर्ण आधार भएको र खोपले बालबालिकाहरूलाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने र छिट्टै गण्डकी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद प्रकाश बराल, प्रदेशका स्वास्थ्य सचिव बिनोद बिन्दु शर्मा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, गाउँपालिका राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, स्वास्थ्य स्वयंसेविकाहरूको सञ्जालका अध्यक्ष भीमा पौडेल लगायतले उक्त अभियान सफल भएसँगै खोप कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button