तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण

काठमाडौँ  । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ ।

 विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनः निर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबिच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं- २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिनुभयो । ऐतिहासिक महत्वको यो सम्पदा रु दुई करोड ४९ लाख ३७ हजारमा मा पुनःनिर्माण थालिएको उहाँले बताउनु भयो । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

 यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उहाँले बताउनुभयो । ल्हासा–काठमाडौँ यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्त बास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button