तपाईँ सुन्दै हुनुहुन्छः

खडेरीले मकै सुक्न थालेपछि पर्साका किसान चिन्तित

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका लगायतको ग्रामीण क्षेत्रमा पानी नपर्दा मकै बाली बोटमै सुक्न थालेको छ ।

सिँचाइ सुविधा नभएको ठाउँमा लगाइएको मकै बाली सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन् ।

ठोरी गाउँपालिकाको वडा नम्बर ३ को नयाँबस्ती, वडा नम्बर ४ को मिलचोक, पिपलडाँडा, गुम्बालाईन, फायरलाईन लगायतका विभिन्न क्षेत्रमा लगाइएको मकैको बोट सुक्न थालेको नेपाल किसान संघका केन्द्रिय सदस्य प्रकाश खनालले बताउनुभयो ।

पर्साको अधिकांश पालिकाहरूमा सिँचाइको सुविधा नहुँदा राखिएको धानको बिउ समेत सुक्न थालेपछि किसानहरू पीडित भएको विरुवागुठीका किसान भुवन पौडेलले जानकारी दिनुभयो ।

खडेरीको कारण बिउ तथा बारीमा लगाएको मकै बाली बोटमै धमाधम सुक्न थालेपछि मेहनत र खर्च दुवै खेर गएकोले चिन्ता परेको किसान पौडेलले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा सिँचाइका लागि किसानहरुले डिप बोरिङको माग गरेको भए पनि तिनै तहका सरकारले आफ्नो मागप्रति ध्यान नदिएको गुनासो किसान संघका केन्द्रिय सदस्य खनालले गर्नुभयो ।

बारीमा लगाएको सबै मकैको बोट सुकेपछि अब पानी पर्ने बित्तिकै तिल छर्ने तयारी गरेको ठोरी गाउँपालिका वडा नम्बर ४ का अर्का किसान हरि तिमिल्सिनाले बताउनुभयो । उहाँले करिब १३ कट्ठा जग्गामा लगाउनुभएको मकै बाली खडेरीका कारण सुकेको छ ।

खडेरीले मकै बाली सुकेपछि किसानको मिहिनेत खेर गएको छ । मकै लगाउनका लागि खनजोत र मलखाद बिउमा गरेको लगानी समेत डुबेको छ ।

पर्साका केही पालिकामा किसानले पानी नपरेका कारण मकैको बोट सुक्न थालेपछि फाँडेर गाई वस्तुलाई दिन थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button