बबईको बिकट बस्ती गँगटेमा अस्थायी प्रहरी पोष्ट स्थापना
दाङ । बबई गाउँपालिकाको बिकट बस्ती गँगटेमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गँगटेमा औपचारिक कार्यक्रमको आयोजना गरेर अस्थायी प्रहरी पोष्टको आज उद्घाटन गरिएको हो ।
बबई गाउँपालिका वडा नम्बर १ लाई लक्षित गरेर अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिनुभयो । विपद्, मुचुल्का तथा सर्जमिन गर्नका लागि हापुरे आउनुपर्ने स्थानीयको समस्यालाई ध्यानमा राख्दै प्रहरी पोष्ट स्थापना गरिएको थापाले जानकारी दिनुभयो ।
प्रहरी पोष्ट स्थापना उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारको प्रत्यक्ष सहभागिता र जनतालाई सरकारको अनुभूति हुने गरी काम गर्न प्रहरीलाई आग्रह गर्नुभएको थियो । गँगटे क्षेत्रमा लामो समयदेखि प्रहरी पोष्टको माग हुँदै आएको भन्दै उहाँहरूले प्रहरीले जनतासँग जोडिएका विषयलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले प्रहरी मेरो साथीका रुपमा लिन स्थानीयलाई आग्रह गर्नुभयो । जनताका हरेक दुःखसुखमा प्रहरी आवश्यक पर्ने भन्दै अध्यक्ष खत्रीले जनताको भर प्रहरीलाई र प्रहरीको भर जनतालाई हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले गँगटे क्षेत्रलाई राज्यका तर्फबाट हेर्ने दृष्टिकोण परिवर्तन हुन थालेको भन्दै खुशी ब्यक्त गर्नुभयो । साथै गँगटे क्षेत्रमा प्रहरीको अस्थायी पोष्ट स्थापना भएसँगै राज्यका हरेक अङ्गको उपस्थिति हुने बढेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक रामबहादुर केसी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक ठाकुरप्रसाद पोखरेलले प्रहरी जनताको साथीका रुपमा काम गर्ने बताउनुभयो ।
अस्थायी प्रहरी पोस्टमा हालका लागि पाँच जना प्रहरीलाई खटाइएको छ । प्रहरी सहायक निरीक्षक ईश्वरीबहादुर भण्डारीको कमाण्डमा पाँच जना प्रहरी खटाएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट १ जना, ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट १ जना र ईलाका प्रहरी कार्यालय खिलतपुरबाट ३ जना प्रहरी अस्थायी प्रहरी पोस्टमा खटाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्