एमाले गुल्मीको जिल्ला अधिवेशनमा नेतृत्वका लागि मतदान सुरु

गुल्मी । नेकपा एमाले गुल्मीको १२ औँ जिल्ला अधिवेशनमा नेतृत्व चयनको लागि मतदान सुरु भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासस्थित एमाले पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि मतदान सुरु भएको हो ।
बुधबार र बिहीबार दिउँसोसम्म नेतृत्व चयनमा सहमतिको लागि छलफल चलिरहे पनि आकाङ्क्षीले आफ्नो अडान नछोडेपछि मतदानबाटै नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ ।
आज दिउँसो ३ः०० बजे अन्तिम उम्मेदवारको नामावली समेत सार्वजनिक गरेर मतदान सुरु भएको हो ।
निर्वाचन समितिले दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । केही बेर अघि मात्र मतदान सुरु भएकाले निर्धारित समयमा मतदान नसकिने प्रतिनिधिले बताएका छन् ।
१२ औँ अधिवेशनका लागि जिल्लाका ९३ वटाबाट प्रतिनिधि छनोट भएर तम्घासमा आएका छन् । त्यस्तै अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधि रहे पनि कार्यक्रममा ६१३ जना प्रतिनिधि सहभागी छन् ।
जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष बालसिंह काउछा र लुम्बिनी प्रदेश सदस्य हिरा अर्याल क्षत्री (एसी) उम्मेदवार बन्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा गणेश श्रीपाली, जीवन खरेलले उम्मेदवारी दिनुभएको छ । पार्टीको जिल्ला सचिवमा धर्म विश्वकर्मा, पदमप्रसाद अर्यालले उम्मेदवारी दिनुभएको छ ।
महिला उपसचिवमा भने लक्ष्मीदेवी पन्थ सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरु केही सर्वसम्मत निर्वाचित भएका छन् भने कतिको मतदान भइरहेको छ ।
अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । गुल्मीमा १० हजार बढी सङ्गठित सदस्य रहेको एमालेले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्