‘वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्ने’

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूले वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘वैकल्पिक राजनीतिको औचित्य र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी दलका नेताहरूले नयाँ शक्तिहरू विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभयो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकास र आर्थिक समृद्धिको यात्रामा सबै राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष डा भट्टराईले लोकतान्त्रिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका हुनुपर्ने आफ्नो पार्टीको सङ्कल्प रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री लामिछानेले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरू उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरुप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो
उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरू मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राख्नुभयो ।
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले नयाँ शक्तिहरुबीच एकताबद्ध भई सडक सङ्घर्षबाटै अघि बढ्नुपर्ने बताउनुभयो ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अग्रगामी सोचका राजनीतिक शक्तिहरू एकताबद्ध भएर जनताको हितमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्