‘राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक’
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज यहाँ आयोजित ‘दिगो विकासका लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्य’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरूप्रतिको विश्वास कम हुँदै गएको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नेपाली नागरिक वञ्चित हुन नहुने बताउनुभयो । ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई सहुलियत दिने गरी उपचार गर्ने योजना ल्याउन लागिएको उहाँको भनाइ थियो ।
सङ्घीय सरकारले न्यून बजेट दिएका कारण प्रदेश सरकारले जनताको काम गर्न नसकेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेशभित्र विपन्नको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाले मात्र नसक्ने भएकाले सह लगानीकर्ताको खोजी गर्दै उनीहरुलाई सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्वास्थ्य बिमा प्रभावकारी बनाउन सके स्वास्थ्य क्षेत्रका समस्या समाधान हुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । गण्डकी प्रदेशका ११ जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहभागी भएको उक्त कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश कार्यालयका सचिव विनोदविन्दु शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।
विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफ्नो जिल्लामा देखिएको स्वास्थ्य समस्या र बजेट अभावका कारण सर्वसाधारणले पाएको सास्तीका साथै पछिल्ला समयमा भएको उपलब्धि, स्वास्थ्य बिमाले पारेको सकारात्मक प्रभावका बारेमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्